राष्ट्रपति र सातै प्रदेशका प्रमुखहरूबीच भेट

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताउनुभएको  छ ।

सम्माननीय राष्ट्रपतिज्यूले प्रदेश प्रमुखहरुसँग शीतल निवासमा बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।

“प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू  संघीयताको सेतु भएको उहाँको भनाई थियो ।  “त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ”,सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो ।

उहाँले प्रादेशिक कानुन निर्माणका कामहरू चाँडै सकेर कार्यान्वयनमा जति सक्दो चाँडै लाग्छौ, परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्व नगरौं भनेर हाम्रोतर्फबाट झक्झकाउने काम गरौं भन्नुभयो ।

“प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्व स्थापित हँुदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ”, सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो ।

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

“खासगरी मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क गर्ने र छलफल गर्ने गर्दा उपयुक्त हुन्छ भन्ने पनि म ठान्दछु”, सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो ।