काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षा पूरा गर्नुनै साझा दायित्व भएको बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार, २०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन जरुरी रहेको बताउनुभयो ।
सम्माननीय राष्ट्रपतिज्यूले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
सो कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले शान्ति समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार, २०८१ बाट सामाजिक न्यायका अभियन्ता एवम् पूर्व राजदूत पदम सुन्दासलाई पुरस्कृत गर्नुभयो।


