महाशिवरात्री पर्व, २०८२ को शुभकामना सन्देश
महाशिवरात्री पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवम् विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत्खण्ड र मानसखण्डको भूभाग मूलभूतरुपमा नेपालमा पर्दछ । तसर्थ, आराध्यदेव श्री पशुपतिनाथ एवम् किराँतेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र र पवित्र तीर्थस्थलका रुपमा रहिआएको छ ।
वैदिक परम्परामा शिवलाई मूलत: संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको छ । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्री पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवम् धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् संवर्द्धन गर्न प्रण गर्नुपर्दछ । हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।
अन्त्यमा, महाशिवरात्री पर्व, २०८२ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ फागुन ३ गते, आइतबार ।
ने.सं. ११४६ सिल्लागा त्रयोदशी ।


