नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश
नयाँ वर्ष २०७७ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयासहरू तीब्रताका साथ अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । विनासकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र साँस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौं ।
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोवल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी कायम गर्नुपर्ने नै देखिएकाले यसबाट विश्वको आर्थिक प्रणाली, कृषि, उद्योग, शिक्षा र मानिसको दैनिक जीवनलाई नराम्ररी खल्बल्याएको छ । यसबाट मानिसको दैनिकीलाई समेत कष्टकर बनाएको छ । अब हाम्रो अर्थतन्त्रमा पर्नसक्ने प्रतिकूल प्रभावलाई कम गर्न यहाँका आन्तरिक स्रोतहरू- उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधतालाई सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको छ ।
यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंलाख मानिस संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका छन् । यस संवेदनशील परिवेशले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्ने माग गरिरहेको मैले महसुस गरेको छु । अहिले मानव सभ्यतामाथि नै ठूलो विपत् आइलागेकाले अमूल्य जीवन रक्षाका लागि विपत्लाई अन्तर्राष्ट्रिय समुदायसहित सबैले आ-आफ्नो ठाउँबाट आफूसक्दो सहयोग गर्न अग्रसर हुनुपर्छ भन्ने मलाई लागेको छ । कोरोनाभाइरस सिर्जित यस विपत्मा साझा प्रयास गर्दा मानवजातिको जित सुनिश्चित छ । यस कठिन घडीमा उच्च मनोबल र सकारात्मक सोंचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू पुनः एकपटक एकजुट भई अगाडि बढ्न नयाँ वर्षले सबैमा उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्तमा, महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यस पटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै नयाँ वर्ष २०७७ ले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७७ साल वैशाख १ गते सोमबार ।