जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८१ वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतितर्फको सम्मान शान्त मानवी, ईतिहासतर्फको सम्मान डा. मेदिनीप्रसाद सेडाई र साहित्यतर्फ राममणी पोखरेललाई सम्मान गर्नुभएको थियो ।