खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन्:

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको बताउनुभएको छ । उहाँले यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो । दशरथ रंगशालामा बुधबार आयोजित पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हो, यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन्, त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।”
शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको उहाँको भनाई थियो । उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवम् खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारकारुपमा उभ्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गएपनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तर्राष्ट्रिय तालिमको अभाव चुनौती बनेको छ भन्दै यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।