उधौली पर्व, २०८२ को शुभकामना सन्देश
किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।
विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम भूमिका निभाएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकुल जीवन व्यवस्थापन, एकता, सहकार्य, साँस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्था आदिलाई अझ मजबुद बनाउन सहयोग पुर्याएको महशुस गरेको छु ।
अन्त्यमा, यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास सहित पुनःउधौली पर्वको शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ मङ्सिर १८ गते बिहीबार ।
ने.सं. ११४६ थिंल्लाथ्व चतुर्दशी ।



