सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना सन्देश

७७ ‌औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस Human Rights, Our Everyday Essentials भनाइलाई आत्मसात् गर्दै मनाउन लागिएको छ । मानवले मानव जस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्‍वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ ।

मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी  घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुद बनाउन योगदान पुर्‍याएको छ । हाम्रो देश मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र समेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवम् संवेदनशील रहिआएको छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघ, संस्था, सञ्चार माध्यम तथा निजी क्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन आवश्यक थप कार्यहरू गर्न सकेमा मानव अधिकार दिवसले थप सार्थकता पाउनेछ भन्ने मलाई लाग्दछ ।

व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हो । आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ वढि अग्रसरता लिनु पर्ने देखिन्छ ।

युवा पुस्ताको आन्दोलनपश्‍चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत विशेष चासोका साथ हेरिरहेको छ । देशको वतर्मान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवा पुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका आवश्यक छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोग प्राप्‍त हुने विश्‍वास गरिएको छ ।

अन्त्यमा, यस दिवसले सबै पक्ष र निकायलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ मङ्‌सिर २४ गते बुधबार ।

ने.सं. ११४६ थिंल्लागा षष्‍ठी ।